Sunday, March 15, 2009

भूमिपुत्र थारूहरूको आन्दोलन

किशोर नेपाल

(Courtesy: Naya Patrika, 15 March 2009)

सशस्त्र द्वन्द्वको समयमा सरकारी सुरक्षा निकाय थारू समुदायका तन्नेरीहरूलाई सोझै हिंसात्मक आन्दोलनसँग जोड्ने गर्थे । मध्य र सुदूरपश्चिमका सुरक्षा-पोस्टहरूमा बसेका हाकिमहरू कुनै पनि लक्का जवान थारू केटा वा केटीलाई देख्नेबित्तिकै माओवादीको आरोप लगाइहाल्थे । त्यतिवेला, यात्राका क्रममा यो स्तम्भकारले सुखड, पहलमानपुर, अतरिया र वुडरका चेकपोस्टमा सुरक्षाकर्मीले थारू केटा वा केटीको हुर्मत लिएको देखेको छ । द्वन्द्वकालीन सरकारहरूको अनुभवमा थारूहरूको सक्रिय सहभागिताले माओवादी आन्दोलनलाई ऊर्जा दिएको थियो । सुरक्षाकर्मीहरूको यो पूर्वनियोजित मानसिकताका कारण धेरै थारूले दुःख पाएका थिए । हिंसाको त्यो कालखण्डमा धेरै तन्नेरी थारूले अनाहकमा ज्यान गुमाउनुपरेको थियो । धेरै थारू विस्थापित भएका थिए । देशमा बृहत् शान्तिप्रक्रिया सुरु हुन्जेलसम्ममा धेरै सचेत थारूमाथि माओवादीको ठप्पा लागिसकेको थियो । टाठाबाठामा गनिने केही थारूले तत्कालीन सत्ताको ओत पनि नपाएका होइनन् । तर, ती नगण्य थिए । आन्दोलनको व्यापकतामा समेटिएका विशाल थारू समुदायका अगाडि ती केही पनि थिएनन् । जनआन्दोलनको दोस्रो शृंखलामा त्यो विशाल थारू समुदाय आन्दोलनको मुख्य ऊर्जा बनेको थियो ।

नेपालका आदिवासी जातिका रूपमा थारूहरूको पहिचान कसैले स्थापित गरिरहनुपर्ने विषय होइन । नेपाली जीवनको तस्बिरबाट थारूलाई निकालिदिने हो भने त्यो तस्बिरको औचित्य नै बाँकी रहन सक्दैन । नेपालीका रूपमा थारूहरूको निख्खर पहिचानलाई कसैले खोस्न सक्दैन । उनीहरूको त्यो पहिचान मेटाउन खोजियो भने देशका रूपमा नेपालको परिचय नै खण्डित हुने भयावह अवस्था आउनेछ । नेपाली राज्यको मौलिक स्वरूपको निर्माणमा अपरिहार्य र अविभाज्य भूमिका रहेका जाति र जनजातिको नाम लिँदा सबैभन्दा पहिले उच्चारण गर्नुपर्ने जाति हो, थारू । विडम्बना कि राज्यको बृहत् स्वरूपबाट सधँै उपेक्षित रहेको, सधँै ठगिएको र सधँै शोषित रहेको जाति पनि थारू नै छ । एकाग्रता र लगनशीलता थारू जातिका विशेष गुण, हुन् । कृषिकर्ममा होस् वा आन्दोलनमा, थारू कि त लाग्दै लाग्दैन, लागेपछि सम्पूर्ण तन्मयताका साथ लाग्छ । थारू जातिको सबभन्दा ठूलो गुण यही हो ।

नेपालका थारूहरू समाजको आधुनिकीकरणबाट पर्याप्त फाइदा लिनबाट चुकेका वा वञ्चित गरिएका जातिमा पर्छन् । भूमिपुत्रका रूपमा नुन र पीरोसँगै औलो र अन्य अनेक प्रकारका व्याधी पचाउँदै आएका थारूको विस्थापन पनि नेपालको आधुनिकीकरणसँगै जोडिएको छ । अमेरिकी सहयोगमा नेपालको तराई र भित्री मधेसबाट औलो उन्मूलन गरिएपछि ती क्षेत्रका भूमि विस्तारै गैरथारूबाट आवाद हुन थाले । थारूहरूले नयाँ आवादकर्तालाई खुला दिलले स्वागत मात्र गरेनन्, उनीहरूको स्थायित्वको जग बसाउन पर्याप्त सहयोग पनि गरे । यसक्रममा थारूहरूले थाहै पाउन सकेनन्, कतिवेला उनीहरू जग्गाधनीबाट कमैया भइसकेका थिए । अरूलाई स्थापित गराउने धूनमा स्वयं विस्थापित भइसकेका थिए ।

नेपालका समाजशास्त्रीले थारू जातिलाई शक्तिको हिसाबले थाकेका वा कमजोर हुँदै गएका जातिका रूपमा चित्रण गर्ने गरेका छन् । उनीहरूको विचारमा थारू यस्तो जाति हो जो आपmनो पृथक् जातीय अस्तित्वका लागि संघर्ष गर्ने स्थितिमै रहेको थिएन । अन्य उत्साहित जातीय समूहभित्र समाहित हुँदै गएको निष्कर्षमा पुगेका थिए समाजशास्त्रीहरू । तर, अहिलेका घटनाक्रमले त्यसलाई गलत सावित गरिदिएको छ । अहिले चर्किएको आन्दोलनले थारूलाई क्लान्त र राजनीतिक रूपले निष्त्रिmय जातिबाट जीवित ज्वालामुखीका रूपमा विस्फोटित गराइदिएको छ । अहिलेको आन्दोलनले थारूको चुलोमा सत्ताको रोटी पकाउँदै आएका मधेसवादी र माओवादीको नारा संकटमा परेको छ । मधेसवादीलेे एक प्रदेशका रूपमा बनाउन खोजेको मधेसभित्र आफू अटाउन नसक्ने घोषणा थारूहरूले गरिसकेका छन् । त्यसैगरी, सरकारका रूपमा प्रस्तुत हुनुअघि थारूहरूको छुट्टै प्रदेश बनाउने नारा दिने माओवादीले थारूहरूको विश्वास नराम्रोसँग गुमाएका छन् ।

०४६ को जनआन्दोलनले बृहत्तर थारू समाजलाई उद्वेलित नगरेको होइन । त्यसवेलाको आन्दोलनले थारू जातिमा क्रियात्मक चेतनाको राम्रै विकास गर्यो । शासनका विधि-विधानबाट पन्छिएर होइन, त्यसमा सहभागिता खोजेर मात्र थारू जातिको विकास हुने निष्कर्षमा पुग्यो, थारू समुदाय । देशको शासनमा भागिदार कांग्रेस र एमाले जस्ता पार्टीमा थारूको सहभागिता उल्लेख्य रूपमा बढ्यो । तर, ठूला दलहरूले किनारामा लेखिएका साक्षीका रूपमा मात्र थारू जातिको अस्तित्वलाई स्वीकार गरे । थारूहरूको घना आवादी भएका जिल्लामा समेत कांग्रेस र एमालेले थारूलाई नेतृत्वमा राखेनन् । यति मात्र होइन, थारू जातिलाई देशका कुनै पनि आर्थिक र सामाजिक गतिविधिमा समावेश गरिएन । विदेशमा रोजगारीको अवसर होस् वा स्वदेशमा शिक्षाको, थारूहरू सरकारका कार्यक्रममा कतै पनि अटाउन सकेनन् । यही कारण हो कि नेपालीे राष्ट्रिय राजनीतिको कुनै पनि पक्षमा यतिखेर पनि थारू नेताहरूको खडेरी परेको छ । पहाड वा मधेस जहाँका हुन्, ब्राह्मण र बनियाँहरूले आफूलाई भूमिपुत्र सावित गर्न जतिसुकै ठूलो स्वरले कराए पनि थारूहरूको अघिल्तिर उनीहरू पुड्का सावित हुन्छन् । ब्राह्मण र बनियाँ दुवै यस्ता जाति हुन्, जो तामाको एउटा थाली र एउटा खच्चडका भरमा पनि आपmनो अस्तित्व धान्न सिपालु हुन्छन् । मधेसमा यो कुरा प्रत्यक्ष देखिन्छ । कुनै एउटा ढुंगोलाई देवताको रूपमा स्थापित गरेर सबैको निधारमा टीका लगाइदिँदै दक्षिणा बटुल्दै हिँड्ने ब्राह्मण र खच्चडको पिठ्यूँमा दुई भारी बतासा बोकाएर बजार-बजार चहार्ने बनियाँका बीच अनौठो तादात्म्य रहेको हुन्छ । बुद्ध धर्मावलम्बी र मुस्लिम धर्मावलम्बीका बीच धार्मिक र समुदायगत रूपमा कुनै प्रकारको समानता हुँदैन । तर, जहाँ बौद्धमार्गी हुन्छन्, त्यहाँ मुस्लिमको उपस्थिति अनिवार्यझैँ हुन्छ । बौद्धमार्गी आफँैले पशु हत्या गरेर मासु खाँदैनन् । त्यसैले बौद्धमार्गीको बस्तीमा मुस्लिम समुुदायका मानिस मासुको व्यापार गर्छन् । ब्राह्मण र बनियाँको सम्बन्ध पनि त्यस्तै हो । ब्राह्मणहरू धर्म र पूजाको व्यापार गर्छन् र बनियाँ नैवेद्य अथवा बतासाको । यो अद्भूत जोडी जहाँ गए पनि सँगै फष्टाउँछ । थारूहरूले यस्ता व्यावसायिक कुरा बुझेका हुँदैनन् । उनीहरू माटोमा जन्मिन्छन्, माटोमै लडिबुडी गरेर हुर्किन्छन् र माटोमै बिलाउँछन् । धर्ती नै उनीहरूको धर्म हो ।

माओवादीलगायतका नेपालका राजनीतिक दलहरू अहिलेसम्म पनि परम्परावादी मान्यताबाटै निर्देशित छन् । जाति-जातिबीच अन्तर्निभर सम्बन्ध नभएसम्म सन्तुलित विकासको ढोका खुल्न सक्दैन भन्ने तथ्यलाई नेपालका राजनीतिक दलले राम्ररी बुझ्न चाहेका छैनन् । स्वायत्तता एउटा आकर्षक राजनीतिक नारा बनेको छ । तर, जाति र जनजातिका सामाजिक तथा सांस्कृतिक स्वायत्तता शून्यमा टिक्न सक्दैन भन्ने तथ्यलाई कसैले पनि केलाउन खोजेको पाइँदैन । अन्तरनिर्भरताबाट प्रादूर्भूत हुने स्वायत्तता मात्र टिकाउ हुन्छ । त्यस्तो स्वायत्तताले मात्र राजनीतिक स्थायित्व दिन सक्छ । दुर्भाग्य कि, यतिखेरको नेपाली राजनीतिमा विभिन्न जाति र जनजातिलाई एक अर्काको शत्रुका रूपमा चिनाउने खेल भइरहेको छ । जातीय अन्तरनिर्भरताको सूत्रलाई समेटेर राष्ट्रिय एकताको माला बनाउनेतिर संविधानसभाका माननीय सभासद्हरूको ध्यान पुग्न सकेको देखिएको छैन । जनताद्वारा निर्वाचित संविधानसभाले तयार पारेको कार्यसूचीहरूको औचित्य र उपयोगिताका बारेमा प्रश्न उठाउनु जायज नहोला । तर, राष्ट्रिय स्वार्थका मूल मुद्दामा संविधानसभाभित्रबाट कुनै पहल नगरिनु दुर्भाग्यपूर्ण हो । निर्वाचित संविधानसभाको गठनपछि पनि पार्टीहरूले देशका ज्वलन्त समस्याको समाधान संविधानसभाबाहिर खोज्ने हो भने राजनीतिक दलहरूको नियतमाथि जनताले प्रश्न उठाउनेछन् । आपmना अधिकारको खोजीमा थारूहरू सडकमा उत्रिनुपर्ने परिस्थितिको निर्माण पक्कै पनि थारूहरूले गरेका होइनन् । संविधानसभाभित्र वर्चस्व भएका दलहरूले यसको समाधान खोज्न सकेनन् भने देशको अवस्था अरू विकराल हुनेछ ।

नयाँ वातावरणमा भौगोलिक र ऐतिहासिक रूपले सर्वमान्य ठहरिएका भिन्न विचारलाई 'नेपाली' पहिचानभित्र सन्तुलित ढंगले मिलाएर लैजान सकिएमा मात्र हामी राष्ट्रका रूपमा जीवित रहनेछौँ । यसका लागि हामीले साझा संस्कृतिका आधार समात्नै पर्छ भन्ने केही छैन । मधेसीभित्र थारू अटाउने, थारूभित्र मधेसी अटाउने, सबैभित्र सबै अटाउने किसिमको स्वायत्त गणराज्यको खोजी नै अहिले सबैको अभीष्ट हुनुपर्ने हो । पुराना र शास्त्रीय प्रकारका राज्यहरूको संरचना भत्किँदै गएका अवस्थामा नेपालीहरूले समानुपातिक जातीय सन्तुलनसहितको राज्यको निर्माण गर्न सक्छन् । त्यसका लागि विद्वेष होइन, विवेकको आवश्यकता हुन्छ ।

photo credit: Jack Lazar via photopin cc

No comments:

Post a Comment