Sunday, July 21, 2013

गुमनाम शहिद गुम्रा थारु: (आज ५४ औ गुम्रा स्मृति दिवस )

Republished from Facebook page of Tharu Community with Mr Dilli Malla's permission.

Written by Dilli Malla (dillimalla@gmail.com) 2010.
(c) Facebook/Tharu Community and Dilli Malla


‘यस्तै-यस्तै बेला थियो’- उनले एकपटक पश्चिम आकाशतिर हेरे । सूर्य बिस्तारै पश्चिमी क्षितिजतिर ओरालो झर्दै थियो ।

आज बिहानैदेखि उनी सिस्नेखोलाको किनारमा छन् दुइटा गोरुका साथमा । उसो त जीवनका झण्डै आठ दशक यही खोलाको किनारमा गोठालो र खेतीपाती गर्दागर्दै बितिसकेको छ उनको । छेउमै सिस्ने खोला बगिरहेछ, सँगसँगै बगिरहेछ उनको जीवन पनि सिस्ने खोलाजस्तै- कहिले उर्लिदै, गड्गडाउँदै त कहिले सुस्त-सुस्त सुस्साउँदै ।

उनी अर्थात् कालुप्रसाद चौधरी । दाङ वेलुवा बञ्जाडी हत्याकाण्डका घाइतेमध्ये हालसम्म जीवित एकमात्र योद्धा ।

ठीक ५० वर्षअघि, सत्र साल साउन छ गते कुन बार थियो उनलाई याद भएन । बर्खामास भएपनि पानी परेको थिएन त्यतिबेला । ‘जम्मै गाउँलेहरु खेतमा काम गरिरहेका थिए । कोही जोत्दै थिए, कोही खेतमा आली लगाउँदै त कोही खन्दै थिए ।’ उनले लामो सास फेरे एकपटक । ‘दिउँसो त्यस्तै दुई तीन बजेको हुँदो हो जमिन्दारले पुलिस ल्याएर खेतमै आइपुगे ।’ फेरि आकाशतिर हेरे उनले । सायद उनको घडी त्यही आकाश हो । उमेरसँगै आँखालाई पनि बुढेसकाल लागिसकेछ क्यारे । ‘नजिक मात्र देख्छु, टाढा त तिरीमिरी मात्रै । त्यस्तै चार/साढे चार बीस नाघे हुँला’- उनलाई आफ्नै उमेरको पनि एकिन छैन । नागरिकता ? ‘हाम्रा जमाना किन चाहियो नागरिकता ? के जन्म दर्ता, के नागरिकता, के पढाइ लेखाइ ? जमिन्दारको जग्गा जोते पो अन्न आउँथ्यो ।’ बुढेसकाले आँखामा बाह्य संसार धुमिल-धुमिल जस्तो लागेपनि जवान छँदाको सत्र साले काण्ड भने अझैँ झल्झली देखिन्छ रे भर्खरजस्तै । भन्छन्- ‘वर्गद्ववा, बञ्जाडी हुँदै खेतमै आएका पुलिस र जमिन्दारसँग केहीछिन भनाभन भयो किसानहरुको । एकैछिनपछि पुलिसले भटाभट गोली चलायो । अनि त खैँ के भन्नु र ?”मामा (गुम्रा) खेतमै ढले, त्यसपछि रत्नलाई गोली लाग्यो, म भर्खर भाग्न खोज्दै थिए मेरो खुट्टामा पनि लागिहाल्यो ।’ गोली लागेको कालो खत अझैँ प्रष्टै चिनिदो रहेछ उनको देब्रे खुट्टामा । कालुप्रसाद गुम्राका भाञ्जा रहेछन् साइनोले ।

दिउँसो गाउँमा मान्छे नै भेटिन्नन् सबै खोला र खेततिर । किसानहरु खेतीपातीमा कसिएका छन् । खनजोत, रोपाई, गोडमेल शुरु भइसकेको छ । ‘यस्तै रमाइलो थियो त्यतिबेला पनि । विगत कोट्याउँछन् उनी ।
‘गाउँलेभरि सबै सँगसँगै खेतमै थियौँ । अहिलेका मानिसहरु एक्लाएक्लै काम गर्छन्, हामी त गाउँभरिका सबैले सबैको काम पालैपालो गथ्र्यौँ । तर, खैँ के भो ? जुन दिन मामा (गुम्रा) मारिए, त्यसदिनदेखि खेतमा काम गरिरहेका मान्छे देख्नेबित्तिकै त्यही घटनाको याद आउन थाल्छ । आँखा वरिपरि उही तस्वीर नाच्न थाल्छ ।’गुम्रा थारु, नाम सम्झिने बित्तिकै मन झसङ्ग हुन्छ । एकपछि अर्को सबै घटनाक्रमहरु दोहोरिन्छन् उनको बुढो दिमागमा । मन चरक्क चिरिएर आउँछ । दुःख, पीडा, आक्रोश, घृणा र वदलाभाव सबैले एकैपटक थिचेर ल्याउँछ । ‘खैँ कहिले पाउला र उनको आत्माले न्याय ?’ उनी भन्छन्- ‘जबसम्म जोत्नेकै नाममा जमीन हुँदैन् तबसम्म गुम्राको आत्माले न्याय पाउने छैन ।’

कहिले जन्मिए होलान् गुम्रा ? तिथिमिति कसैलाई थाहा छैन । गुम्राका भतिजा ठाकुर भन्छन्- ‘म पन्ध्र वर्षको थिए त्यतिबेला उनी हाम्रै उमेरका जस्तो लाग्थ्यो, जतिबेला माइला काकालाई जमिन्दारहरुले मारे’- पचास वर्ष नाघिसकेका गुम्राका भतिजा ठाकुरप्रसादको कुराले त्यस्तै वि.सं.१९६५-१९७५ को बीचमा लालु चौधरीका माइला छोराको रुपमा जन्मिएका थिए गुम्रा थारु । विवाहपछि एकमात्र छोरी जन्मिएकी थिइन् उनकी- चेर्र्या चौधरी । अहिले उनी जीवित छिन् वा छैनन् थाहा छैन । सानैमा उनको ब्रुहान (बर्दिया)तिर विवाह भएको थियो । ’माइला काका (गुम्रा) कति रमाइला मान्छे थिए’- बाल्यकालको यादले मन रोमाञ्चित हुन्छ ठाकुरप्रसादको । ‘केटाकेटीमा हामीलाई उनले कत्ति माया गर्थे कत्ति ? सायद मायाको मापन गर्ने कुनै त्यस्तो साधन हुन्थ्यो भने उनले नापेर नै देखाइदिन्थे गुम्राको माया । कुरा गर्दागर्दै उनी मलीन देखिए- बादलले छोपेको जुनेली रातजस्तो ।

ठाकुरप्रसाद गुम्राका दाजु प्रदेशी थारुका माइला छोरा हुन् । गुम्राको आफ्नै सन्तान नभएपनि उनका दाजु प्रदेशी र भाई ढाँठुका सन्तानहरु अहिले पनि त्यही खेत जोतिरहेका छन् अधियाँमा- जहाँ गुम्रा ढलेका थिए । ‘जमिन्दार भने पहिलेका छैनन्’- ठाकुरले बताए ।

आखिर किन मारियो गुम्रालाई ? उनले जमिन्दारको के बिगारेका थिए ? प्रहरी प्रशासनले किसानहरुलाई किन दमन गर्यो सत्र सालमा ? के किसानहरु नै दोषी थिए उक्त घटनामा ? के थियो घटनाको निहुँ ?

त्यसबेला थारु किसानहरुले जोत्दै आएको जमीनका मालिक बासुदेव घिमिरे, भागु, मेदिनीलगायतका जमिन्दारहरुले २०१६ साल माघमा तोरी भित्र्याउने बेला परम्परादेखि चल्दै आएको चौकुर प्रथा (उत्पादनको ३ भाग किसान र १ भाग जमिन्दारलाई बुझाउने नियम) लाई बदलेर अधियाँ (आधा-आधा) हुनुपर्ने प्रस्ताव राखे तर त्यो प्रस्ताव किसानहरुलाई मान्य भएन । त्यही निहुँबाट विवाद शुरु भयो । घटनाका प्रत्यक्षदर्शी/पीडित कालु, कुनुवा र ठाकुरका अनुसार विवाद बढ्न थालेपछि जमिन्दारले कहिले हलो जुवा काटिदिने, कहिले गोरु चुट्ने, कहिले जोत्न नदिनेजस्ता क्रियाकलाप गर्दै किसानहरुलाई दिनहुँ दुःख दिन थाले । जमिन्दारहरु चाहन्थे- पुस्तौदेखि चलि आएको चौकुर प्रथा बदलेर अधियाँ लागू गर्न र किसानहरुको श्रममा रजाई गर्न । तर, सोझा इमान्दार र स्वाभीमानी थारु किसानहरुलाई जमिन्दारको अत्याचार सह्य भएन र विरोध गरे । परिणामतः गुम्रा मारिए, कालु र रत्नप्रसाद घाइते बनाइए र तीन चार महिनासम्म उपचारको अभावमा अस्पतालकै शैयामा छट्पटाउनु पर्यो । थुप्रै किसानहरुले तत्कालिन ‘प्रजातान्त्रिक’ काँग्रेसी सरकार र प्रहरी प्रशासनको हिरासत र जेलका चिसा छिडीमा महिनौँसम्म यातना भोग्नुपर्यो । अन्ततः जमिन्दारकै पक्षमा फैसला भयो र सोझा किसानहरुले काम नगर्ने जमिन्दारलाई अधियाँ बुझाउनुपर्ने भयो ।

गुम्रा मारिएको ठीक ५० वर्ष पूरा भएछ अहिले । यो बीचमा पञ्चायत, बहुदल हुँदै देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा समेत भइसकेको छ । तर, जमिन्दार र किसानहरु बीचको लडाई सकिएको छैन बरु अझैँ चर्किदैछ । जमिन्दारहरु कहिल्यै पनि जमीन जोत्दैनन् तर उनीहरु नै दिन दुगुणा रात चौगुणा धनी हुँदैछन्, तिनै बनेका छन् दशौँ विघा जग्गाका मालिक । जो पुस्तौँ पुस्तादेखि आँसु, पसिना र रगत बगाएर दिन रात जमीनसँग कठोर संघर्ष गरिरहेछन्, तिनै थारु किसानहरु खाना नपाएर भोकभोकै मरिरहेछन् । यहाँसम्म कि बाँचुञ्जेल पाइला टेक्ने र मरेपछि लास गाड्ने एक टुक्रा जमीनसमेत उनीहरुसँग छैन । आखिर यो विभेद कहिलेसम्म ? राज्यले यसको जवाफ खोज्ने दिन कहिले आउला ?

उसो त साँचो श्रद्धाको रुपमा भन्दा लोकपि्रयताको आसमा गुम्रालाई सहिदको उपमा दिएको पाइयो कतै-कतै । घोराहीमै उनको प्रतिमा पनि बनाइएको छ तर प्रतिमा निर्माणको सवालमा भतिजा ठाकुरप्रसादले असन्तुष्टि जनाए- ‘जे बनाए पनि इतिहास राख्नु छ भने जहाँ काका मारिए र गाडिए त्यही ठाउँमा बनाउनुपर्छ भन्ने मेरो विचार हो तर नेताहरुले मानेनन्, पहिला चौघेरा भन्थे पछि घोराही बनाएछन् ।’

जमिन्दारको असह्य अत्याचार, थारु किसानहरुको अथाह पीडा र राज्यको चरम उदासिनताले उब्जाएका प्रश्नै प्रश्नले पिरोलिदै म सिस्नेखोलाबाट घटना भएको खेततिर लागे, जहाँ ५० वर्ष पहिले गुम्राको रगतले जुन माटो भिजेको थियो । मैले त्यहाँ देखे, वरपरको जमीनमा खेतीपाती गरिएको छ । तर, जहाँ उनी ढले र उनको शवलाई गाडियो त्यो जमीन अझैँ पनि बाँझो थियो ।

बिहानैदेखि लागेको बादल अझैँ पनि फाटेको थिएन । खोलामा धमिलो बाढी उर्लिरहेकै थियो । म भने सिस्नेखोला र वेलुवा बञ्जाडी छोडेर गन्तव्यतिर लागिसकेको थिए । तर, पछि-पछिसम्म एउटा बुढो-पाको आवाज भने कानमा गुञ्जिरह्यो- ‘बाबु हो, जबसम्म जमीन जोत्नेहरुको हातमा आउँदैन् तबसम्म गुम्राको आत्माले न्याय पाउनेछैन ।’

२०६७ साउन

No comments:

Post a Comment