Pages

Tuesday, March 24, 2009

थरुहट आन्दोलन, दलित र मनुस्मृति

महेश चौधरी


2009-03-24,Tuesday (Courtesy: www.nayapatrika.com)

थरुहट आन्दोलन मधेसीकरण र विखण्डनवादविरुद्ध थारूलागायत तराईका अन्य आदिवासी, धार्मिक अल्पसंख्यक र राष्ट्रपे्रमी, देशभक्तहरूले स्वस्फूर्त गरेको आन्दोलन थियो । दुई साता लामो विदेश भ्रमणबाट स्वदेश फर्केपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं सरकारका परराष्ट्रमन्त्री उपेन्द्र यादवले चैत ३ गते त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा त्यहाँ उपस्थित पत्रकारलाई भने, 'थरुहट आन्दोलन भूकम्पको अन्तिम धक्का हो, हाम्रो पार्टीलाई फाइदा पुगेको छ ।' थरुहट आन्दोलन चरम उत्कर्षमा पुगेको वेला मन्त्री यादव देशबाहिर भएकाले त्यसको झट्काको अनुभव गर्न पाएनन् । तसर्थ उनले भूकम्पीय धक्काको अन्तिम तरंगको मात्र अनुभव गर्न पाए । जे होस्, फोरमलाई झट्का लाग्न त लागेकै हो । भूकम्पीय धक्का कति रेक्टरको थियो, सिस्मोग्राफ यन्त्रले नाप्न सकेन, तर भूकम्पको इपिसेन्टर -केन्द्रविन्दु) भने मधेस आन्दोलनको बीचै भागमा रहेको थियो । धक्काले गर्दा मधेस आन्दोलन तीन भागमा विभाजन हुन पुगेछ ः मधेसी, आदिवासी र मुस्लिम । दलितमा भने चिरा मात्र परेछ, चिरा परेपछि अन्ततः ब्रेक हुनेछ । यसर्थ थरुहट आन्दोलनबाट फोरम पार्टीलाई राम्रै फाइदा पुगेको रहेछ भन्ने कुरा हामीलाई थाहा भयो ।

दलित र अन्य सन्दर्भलाई हेर्ने हो भने फोरमको पवित्र ग्रन्थ मनुस्मृति हो । हालका मन्त्री यादवले जब नेकपा -माओवादी) परित्याग गरी फोरम गठन गर्ने क्रममा पहिलो कार्यक्रम गरेका थिए काठमाडौंको राष्ट्रिय सभागृहमा, त्यहाँ उपस्थित श्रोतामाझ 'मनुस्मृतिका आधारमा नेपाल सबै मधेस हो' भनेर केसम्म भनेका थिए, हुटिङ भयो र कार्यक्रम नै बिथोलियो । त्यसपछि जेपी गुप्ता र यादवले आठ सय वर्षदेखि भारतमै हराएको मधेस, आर्यावर्त, हिन्दू धार्मिक राज्य यही नेपालको तराईमा भेट्टायौँ भन्न थाले ।

मनुस्मृतिअनुसार श्रीकृष्ण ब्राह्मण र क्षेत्रीलाई छाडेर केवल वैश्य र शूद्रलाई चाहिँ रक्त अशुद्धता भएको जाति ठान्छन् । यसर्थ यादव समावेश रहेको सरकारद्वारा जारी अध्यादेशमा तराईका दलित, जनजाति र धार्मिक अल्पसंख्यक समुदायका मानिसहरू मनुस्मृति धार्मिक ग्रन्थअनुसार पापयोनिबाट जन्मेका हुनाले उनीहरूको अधिकार हरणयोग्य छ भन्ने मान्यता राखेको हुनुपर्छ । मन्त्री गुप्ताले आध्यादेश खारेज भए विद्रोह गर्छौ भनेर त्यसै भनेका होइनन् । जम्बुद्वीप, आर्यावर्त वा महाभारत जे भने पनि त्यहाँ बाहुनवाद थियो । वेद पढेमा शूद्रका कानमा सिसा पगालेर हालिन्थ्यो । ब्रह्माको मुखबाट ऊ जन्मिएकाले, उसलाई सर्वश्रेष्ठ मान्ने परम्परा थियो । यो व्यवस्था सात सालअघिसम्म कानुनी रूपमै रह्यो । अब नेपाल तराईमा त्यही व्यवस्था पुनः फर्काउने प्रयासमा फोरम छ । आर्यहरूको मानवताद्रोही र जातिभेदवादी दस्ताबेजको नाम मनुस्मृति ग्रन्थ हो । यद्यपि, मनुनामक क्षेत्रीले समाजमा राम्रो व्यवस्था कायम गर्नका लागि योे ग्रन्थ रचेका हुन्, तर भृगु बाहुनहरूले मनुस्मृतिलाई भृगुस्मृति बनाइदिए । यसमा आर्यहरूको जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड, उनीहरूका भक्ष-अभक्ष पदार्थको विवरण उल्लेख गर्दै ब्राह्मणले क्षेत्रीय, वैश्यलाई कसरी कजाउने र शूद्रलाई भोजननिम्ति जुठो अन्न, आङ ढाक्न पुराना वस्त्र तथा ओछ्यानका लागि धानको पराल र ओढ्नका लागि जीर्ण सिरक दिनुपर्छ भनेर उल्लेख गरिएको छ ।

शूद्रलाई बुद्धि दिनु हुँदैन । आफ्नो सेवकलाई बाहेक कुनै दोस्रो शूद्र -भोकै मर्छ भने पनि) लाई जुठो अन्नसमेत खान दिनु हुँदैन । देवतालाई मन्सिएको खाद्यपदार्थ पनि शूद्रलाई भक्षण गर्न नदिइयोस् । शूद्रजातिले ब्राह्मणादि उच्च तीन वर्णलाई कठोर वचनसाथ आक्षेप लगाउँछ भने त्यस शूद्रको जिब्रो काटिदिनुपर्छ, किनभने त्यो सबैभन्दा नीच वर्णमा उत्पन्न भएको हो । शूद्रले बाहुन, क्षेत्रीको जात तथा नाम काट्दै निन्दा गरेमा त्यसको मुखमा दस अङ्गुल लामो फलामे किला आगोमा पोली रातो पारेर घुसारिदिनू । शूद्रले घमण्डका साथ बाहुनलाई उपदेश दिएमा राजाले त्यस शूद्रका मुख र कानभित्र उम्लँदो तेल खन्याइदिनू । शूद्रले आफ्नो हात-गोडामध्ये जुन अंगद्वारा उच्च जातिउपर प्रहार गर्छ त्यही अंगलाई राजाले काटी फ्याकिदिनू, यो मनुको आज्ञा हो । शूद्र बाहुनसँगसँगै एउटै आसनमा बस्यो भने राजाले त्यसको कम्मरमा आगोले रातो पारिएको फलामे डन्डीले डामेर देशनिकाला गरिदिनू वा नाक काटिदिनू । शूद्रले घमण्डका साथ ब्राह्मणको शरीरमा थुकिदिएमा त्यसका दुवै ओठ, मुतिदिएमा यौनांग कटाई फ्याँकिदिनू ।

कस्तो अमानुषिक तरिकाले यातना दिनुपर्ने हो, ती उपदेश मनुस्मृतिमा उल्लेख गरिएका छन्, जुन मनुस्मृतिको हिमायती पार्टी हो फोरम । मनुस्मृतिमा उल्लेख छ— चाण्डाल र स्वपच -अछुत) हरूको बसोवास गाउँबाहिर हुनुपर्छ । यिनीहरूसँग भाँडाकुँडा केही हुनु हुँदैन, कुकुर र गधा यिनीहरूको सम्पत्ति हो । लासलाई ढाकी फालेको कात्रो यिनीहरूले ओढ्नुपर्छ । शूद्रको सम्पत्ति हरणयोग्य छ । शूद्र खरिद गरिएको होस् वा नहोस् उसलाई दासको काम गराउनुपर्छ किनभने विधाताले त्यसलाई बाहुनको दासकर्म गरिदिनका लागि नै बनाएको छ ।

विसं. १९१० मा राणा प्रधानमन्त्री जंगबहादुरले आश्विन ५ देखि दसजना मधेसी बाहुन -नौजना झा र एकजना मिश्र) लाई जातअनुसार नियम बनाउन अधिकार प्रदान गरेका थिए । उनीहरूको विपरीत गएका खण्डमा रु. पाँचदेखि रु. ३० सम्म जरिवाना गर्नसक्ने अधिकार पाएको र कसैले उनीहरूको धर्म र भनाइअनुसार नचलेमा आफ्नो जातैबाट पतीतसम्म गर्न सक्ने अधिकार पाएका थिए । यसै अधिकारका आधारमा तराईमा राणाकालभरि यिनीहरूले मनपरी गरेको कुरा रेवतीरमण खनालले आफ्नो कानुनको पुस्तकमा उल्लेख गरेका छन् । ठीक यसै गरी श्रीकृष्णका सन्तानहरू र मधेसी उच्च जातिहरूले एक्काइसौँ शताब्दीको हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रमा 'मनुस्मृति'अनुसार तराईका आदिवासी, धार्मिक अल्पसंख्यक र दलितलाई मधेसीकरण गरेर 'मधेस' आर्यावर्त स्थापना गर्न खोजेका हुन् भन्नेमा कुनै शंका लिनुपर्दैन । हिन्दू धर्मका हिमायती, मनुस्मृतिका अनुयायी नेपालका केही कम्युनिस्ट घटकलाई आर्यावर्त चाहिएकाले उनीहरूलाई 'तराई मधेस' नामकरण चाहिएको छ । अफशोच, मन्त्री महोदय विदेश-भ्रमणबाट अलि ढिलो आए, थरुहट आन्दोलनको भूकम्पीय तरंग मत्थर हुने वेलाको अलि कम झट्काको अनुभव गर्न पाए, अब ज्वालामुखी विस्फोटको अनुभव गर्न बाँकी नै छ ।
-चौधरी नेकपा एमालेका सभासद् हुन्)

No comments:

Post a Comment