Tuesday, September 16, 2014

माछाको उत्पत्तिको कथा

धेरै पहिलाको कुरो हो, एउटा हजाम जितियाको (थारु महिलाले मनाउने चाड) बेला घरघर गई महिलाहरुको नङ काट्नमा व्यस्त थिए । त्यसै क्रममा उसको भेट चनवा नामक महिलासँग भयो । तिनी साह्रै सुन्दरी थिइन् । चनवा र श्रीमान लोरी अमिर त्यस गाउँमा नयाँ नयाँ आएका थिए ।

चनवालाई देखेर हजाम मूर्छा परेछन्, सात पटक माटो खाएछन्,(सात चोटि पिसाब गरेछन् र सात पटक दिसा गरेछन्) । उनी ब्यूझिएपछि, चनवाको बारेमा त्यस गाउँका राजा, राजा महोरेलाई भन्ने अनि उनलाई चनवाकी श्रीमानलाई मार्न लगाएर तिनीसित बिहे गर्न उक्साउने योजना बनाए ।

जब राजाले योजना सुने, उनले लोरी एकदम बलिया छन् भने । त्यसपछि हजामले राजालाई एउटा उपाय बताए । उनलाई मरणपूरका राजालाई चिठ्ठी लेख्न लगाएर त्यो चिठ्ठी पुर्याउन लोरीलाई पठाउन सुझाए । त्यस पत्रमा चिठ्ठी ल्याउनेलाई मार्न अनुरोध गर्न लगाए ।

राजा खुशी भए र चिठ्ठीमा लेखे, “लोरीको टाउको, मरणपूरको तरवार।”

लोरीलाई बोलाइयो र त्यो पत्र मरणपूरका राजालाई पुर्याउन लगाइयो । लोरीलाई राजाको योजनाबारे केही थाहा थिएन । अनपढ भएकाले भित्र के लेखेको छ भन्ने पनि थाहा भएन । राजाले एकदम महत्वपूर्ण काम गर्न पठाउँदैछन् भनेर मख्ख पर्दै घर आए । तर चनवा पढेलेखेकी थिइन् र चलाख पनि । उनले चिठ्ठी पढ्ने अनुमति मागिन् र आफ्नो श्रीमानलाई मार्ने दाउ थाहा पाईन् । उनले तत्कालै अर्को पत्र लेखिन् र राजाले दिएको चिठ्ठीसँग साटिदिइन् । साटिएको पत्रमा उनले लेखिन्, “मरणपूरको टाउको, लोरीको तरवार।”

मरणपूर धेरै टाढा भएकोले चनवाले लोरीलाई काम चाडो होस् भनेर राजा महोरेकहाँ गई घोडा माग्न लगाइन् । लोरी घोडा माग्न राजाकहाँ पुगे । त्यो देखेर हजामले मरणपूर नै नपठाई लोरीलाई मार्ने नयाँ योजना बनाए ।

मंगल नाम गरेको एउटा घोडा १२ बर्षदेखि पोखरा सागर (महासागर)को हिलोमा गाडिएको रहेछ । त्यो घोडा एकदम जंगली थियो र आफ्नो मालिक बाहेक कसैलाई आफूमाथि चढ्न दिंदैन थियो । त्यो घोडा लोरीको हजुरबुवाको रहेछ तर लोरीलाई त्यो कुरो थाहा थिएन । लोरीलाई त्यही घोडा लिएर जानु भनी हजामले राजालाई भन्न लगाए । अब लोरीलाई घोडाले मार्छ भनी दुबै मख्ख परे ।

जब लोरी घोडा नजिक गए, घोडाले उनको गन्धले नै आफ्नो मालिकको नाति आएछन् भन्ने थाहा पायो र खुशी भई उफ्रन थाल्यो । लोरीले घोडा एकदम फोहर भएकोले त्यसलाई पोखरी ताल (ताल) लगे र नुहाइदिए । घोडाको खुट्टामा टास्सिएका किरा र जुकाहरुलाई एक एक गर्दै लोरीले निकाल्दै फाले । आरामले रगत चुस्दै बसेका किराहरुलाई के भएको थाहा भएन र उनीहरु भगवानकहाँ गुनासो गर्न पुगे ।

भगवानले उनीहरुलाई भने, “तिमीहरु आ–आफ्ना आकार अनुसारका माछा बन्नेछौ र कलियुगमा मानिसहरुले तिमीहरुलाई खानेछन्।”

त्यहीबेलादेखि माछाहरु उत्पन्न भए । यता चनवा र लोरी खुशीसाथ बस्न थाले ।

(चितवनका सोम्ला महतोबाट अल्रिक मुलर बोकरद्वारा संकलित)      

साभार — दि भ्वाइसेस् फ्रम चितवन ः सम एक्जाम्पल्स अफ दि थारुज् ओरल ट्रेडिशन 

No comments:

Post a Comment