कलाकार लवकान्त चौधरीले रिक्रियट गरेको जोखन रत्गैँयाको डायरी । अनुमतिमा प्रकाशित। |
वि.सं २०५८ साल जेठ २९ गते । कैलालीको लालबोझी गाविसको करमदेउ गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ अलमलमा परे । उनी साथीहरूसँग भन्ने गर्थे, म ज्यानको आहुति दिन्छु, तर दुश्मनको अगाडि झुक्दिनँ । उनको त्यही अठोटले शाही सेनाको घेराबन्दी तोड्ने प्रयासमा लागे । अनेकन जुक्ति निकाले उनले। तर बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन । उनले प्रयास पनि छाडेनन् । अन्ततः उनी घेरा तोडेर भागे । सेनाहरु फायरिङ खोल्दै लखेट्न थाले । जोखन र सेनाको दूरी करिब दुई सय मिटरको थियो । फिल्मी शैलीमा शाही सेनाले जोखनलाई लखेट्दै थिए । सेनाको अनगिन्ती गोलीले अन्ततः जोखनको घुँडा आरपार भयो । उनी केहीबेर त्यही ढले तर आत्मसमर्पण भने गरेनन् । उभिन नसक्ने भएपछि उनी अग्ला भग्रा (घाँस) भित्र घस्रिदै खोलासम्म पुगे । नजिकैको खोलामा हाम फाले, पौडिँदै परसम्म गए । उनलाई खोज्न हेलिकप्टर गस्ती थालियो । सबैतिरबाट घेरिएपछि उनको उपचार बेलैमा हुन सकेन, निरन्तर ब्लिडिङका कारण उनको देहान्त भयो । त्यो कालो दिन सम्झिँदा शरीरमा काँडा उम्रिनेगरेको बर्दियाका खुसी प्रसाद थारू बताउँछन् । शाही सेनाको अप्रेसनमा त्यो दिन कैलालीमा ६ जनाले शहादत प्राप्त गरेका थिए । त्यसमध्ये जोखन एक थिए ।
करमदेउ त्यस्तो गाउँ थियो, माओवादीहरू सेनाको ट्र्यापमा परिहाल्थे । जोखन यसअघि पनि त्यो गाउँबाट उम्किन सफल भएका थिए । तर पार्टीको जिम्मेवारी निभाउन त्यहाँ जानैपथ्र्यो । जानुअघि जोखनले साथीहरूलाई भनेका थिए, ‘यो गाउँमा होस पु¥याएर बस्नुपर्छ ।’ घटना भएको दिन बाँच्न सफल खुसी प्रसाद चौधरी आफूहरू अघिल्लो रातको २ बजे करमदेउ गाउँ पुगेको बताए । बिहान ८ बजे खाना खाइरहेका बेला सेनाले गाउँ नियन्त्रणमा लिएको थियो । जोखनका टिममा अन्य पाँच जना भने बाँच्न सफल भएका थिए । त्यतिबेला बौद्धिक तथा शक्तिशाली नेताको रुपमा उदाएका जोखनलाई टार्गेट गरेरै हत्या गरेको माओवादीभित्रकै नेताहरूले बताउने गर्छन् ।
.....
जोखन रत्गैँयाको जन्म वि.सं २०२५ सालमा कैलालीको हसुलियास्थित रानामुरा गाउँमा भएको थियो । आमा सुखलीदेवी चौधरी र बुबा धनबहादुर चौधरीको उनी जेठो सन्तान थिए । सामान्य परिवारमा जन्मिएका उनले आइएसम्मको अध्ययन गरेका थिए । आइएसम्मको अध्ययनले होला उनले त्यहाँ थारू समाज राम्रोसँग बुझेका थिए । दिनप्रति दिन हुने हरेक प्रकारका विभेदबारे उनी जानकार थिए । पछिल्लो समय पहाडबाट बसाई सरी आएका गैरथारूहरूले खाइपाइ आएको थारूहरूको खेतबारीमा आफ्नो वर्चस्व कायम गरेका थिए । जसका कारण थारूहरू आफ्नै खेतबारीमा कमैया, कमलरी बन्न बाध्य भएका थिए । यी सब कुराको चित्रण जोखनले राम्रोसँग विश्लेषण गर्न सक्थे । त्यसैले त उनले यस्ता विभेदहरूबारे चर्को आवाज उठाउँथे । आफ्नो गाउँ, टोल र छिमेकका थारूहरूलाई यस्ता विभेदविरुद्ध एक भएर लड्न प्रोत्साहन गर्थे । उनले थारू गाउँ गाउँ पुगेर विभेदविरुद्ध नाटक देखाउँथे, थारूहरूलाई प्रशिक्षण दिन्थे र साहित्य लेखनमार्फत् जागरण ल्याउँथे ।
पश्चिम तराईमा हुने आक्रमक बसाइसराइले थारूहरू झनै थिचोमिचोमा परेका थिए । राज्यबाट हुने विभेद त थियो नै, त्यसमाथि आफ्नै खेतबारीमा थारुहरु कमैया बस्नुपर्दा उनी मुर्छित पर्थे । जातीय, वर्गीय विभेद सधैंका लागि अन्त्य गर्न उनी माओवादी पार्टीले सुरु गरेको सशस्त्र जनयुद्धमा होमिए । त्यसअघि उनले अनेरास्ववियुमा बसेर विद्यार्थी राजनीतिसमेत गरे । माओवादी पार्टीमा गएर नेतृत्व लिइसकेपछि उनले धेरै अभियानहरु सफल पारेका थिए । उनका सहपाठी हरि ज्ञवाली अखण्ड सम्झन्छन्, ‘सुरुमा त लाग्थ्यो, हामी दुई जनाले के नै पो परिवर्तन गर्न सक्छौं, हाम्रो कुरा कसले सुन्छ र, तर गरेपछि हुनेरहेछ। हामीले हतियार सिजलगायतका ठूला अभियानहरु सफल परेका थियौं ।’
जोखनको बौद्धिकता र सफल नेतृत्वले पार्टीको केन्द्रीय तहमै चर्चा हुने गरेको थियो । पार्टीभित्र उनलाई बौद्धिक नेताको क्याटोगरीमा राखिएको थियो । तत्कालीन माओवादी नेता वर्षमान पुनले जोखन रत्गैयाँ क्षमतावान नेता भएको बताए । पार्टीले उनलाई बौद्धिक नेताको रुपमा लिनेगरेको पनि उनले बताए । कैलाली र बर्दियामा हुने हरेक कार्यक्रमको नेतृत्व पनि उहाँहरुले गरेको पुन सम्झन्छन् । ‘जोखनजीलाई भेटेको छु र वहाँबारे मैले धेरै सुनेको छु । उहाँ बौद्धिक, निडर एवं क्षमतावान नेता हुनुहुन्थ्यो । उहाँको शहादतपछि पार्टीले ठूलो क्षति व्यहोर्नुप¥यो,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले भने ।
जोखनले माओवादीमा आफ्नो राम्रो उपस्थिति जनाए । उनको उपस्थितिले केन्द्रीय नेताहरूमा तरंग ल्याइदियो । उनले थारू मोर्चालाई राम्रोसँग कमान्ड गरे । थारूमाथि हुने विभेदको अन्त्य गर्न धेरै थारूले उनको साथ दिए । उनकै पछि लागेर सशस्त्र जनयुद्धमा होमिए । उनले आफ्नो पोजिसन राम्रो बनाइरहेकै बेला दुश्मनले त्यहाँ पनि सुखसँग बस्न दिएनन् । उनकाविरुद्ध शाही सेनालाई सुराकी गर्न थाले । सेनाले उनलाई खोज्न नसकेपछि उनको परिवारलाई सताउन थाल्यो । सेनाले हदैसम्मको दमन उनको परिवारमाथि ग¥यो । सेनाको यातनाका कारण जोखनले वि.सं २०५७ सालमा बुबा धनबहादुर रत्गैयाँलाई गुमाए । बुबाको मुख हेर्नसमेत उनी आउन पाएनन् । साहित्य लेखनमा अब्बल मानिएका उनले आमाका नाममा चिठी लेखी भनेका थिए–
आमा तिमी रुनु तर आँशु नझार्नु । विरोधीले देखे हाँसोको पात्र बनाउनेछ । तिमी हाँसोको पात्र बन्नु हुँदैन ।
बुबाले ज्यान गुमाउँदा पनि उनले आमालाई अनुनयन गरेका शब्द हुन यी । उनी विरोधीसामु शिर निहुराउन जानेका थिएनन्, विरोधीसामु हार स्वीकार्न जानेका थिएनन् । उनी आफ्नो लक्ष्यमा सधैं अडिग रहेर अगाडि बढे । यता सेनाको यातना दिने क्रम भने रोकिएन । उनीहरूको अनुपस्थितिमा सेनाले घरका महिला सदस्यहरूलाई समेत यातना दिन सुरु गरिसकेको थियो । सेनाको टार्गेटमा परेका भाइ जगत रत्गैँया (प्रवेश) पनि लुकीछिपी बस्नुपर्ने अवस्था थियो। उनलाई विसं २०५९ सालमा सेनाले बर्दियाको झबहीमा हत्या ग¥यो । जेठी छोरी इन्दु थारू माओवादीकी छोरी भएकै कारण स्कुल जान सकिरहेका थिएनन्, उनलाई भर्ना नगर्न सेनाले निर्देशन दिएको थियो । कलिला दुई छोरा सुरज र निरजको अवस्था झनै दयनीय थियो ।
परिवारका सदस्यमाथि यतिका दमन भइरहँदा पनि जोखले क्रान्तिको बाटो छाडेनन् । तर सोच्दै नसोचेको कुरा उनले आफ्नै जीवनमा भोग्नुप¥यो । पार्टीभित्रको बलियो उपस्थिति र उनको क्षमतादेखि जल्ने उनका केही आफ्नै साथीहरूको ट्र्यापमा फसेँ।
.....
हसुलियाबाट सदरमुकाम धनगढी आएका जोखनले त्यही कर्मथलो बनाएका थिए । उनले मेडिकल शिक्षा प्राप्त गरेपछि धनगढीमै मेडिकल क्लिनिक चलाए । मेडिकलबाट उनले आफूलाई पुग्ने आम्दानी गर्थे । मेडिकल अलावा उनी पत्रकारिता र साहित्य लेखनमा धेरै रुची राख्थे । उनले युवाअवस्थामै थारु मुक्तिको विषयमा कथा, कविता लेख्थे । थारू समुदायमा व्यवसायिक पत्रकारिताको सुरुवात पनि उनैले गरेका थिए । उनले थारू मुक्ति नामक साप्ताहिक पत्रिका प्रकाशन गर्थे । माओवादीमा लाग्नुअघि नै उनले मुक्तिक डगर नामक वार्षिक पत्रिका प्रकाशन गर्थे । जुन ९ वर्षमा ७ अंक प्रकाशित भयो ।
उनले आफ्नो पहिलो कृति चोराइल मन प्रकाशित गरेका थिए । जुन थारू समुदायको पहिलो गजल संग्रह भएको साहित्यकार कृष्णराज सर्वहारी बताउँछन् । उनैले प्रगतिसिल साहित्यको अगुवाई समेत गरेका थिए । थारू समुदायभित्रका आवाजलाई साहित्यमार्फत् उजागर गर्नुपर्ने उनले सल्लाह दिन्थे ।
जोखनले दर्जनभन्दा बढी किताबको पाण्डुलिपी तयार पारेका थिए । जसमा भुत्वा– महाकाब्य, लाल गुलाब– खण्डकाव्य, अग्रासन– कथा संग्रह आदि छन् । यी किताबहरु क्रमशः प्रकाशन गर्ने भनेर जोखनले डायरीमा उल्लेख गरेका थिए । जुन उनको डायरीमा प्रष्टसँग लेखिएको छ । तर दुर्भाग्य डायरीबाहेक उनको परिवारसँग यी किताबका कुनै ड्राफ्ट छैनन् । जोखनले आफ्नो मृत्युसँगै यी सबकुराको राज सँगै लिएर गए । बर्दियाका विश्वबहादुर चौधरी शिशिरले जोखनजीको भुत्वा महाकाब्य त्यसबेला प्रकाशनको अन्तिम चरणमा रहेको बताए । किताबको आवरण पनि उनैले तयार पारिदिएका थिए । ‘बर्दिया आउँदा उहाँले भुत्वा महाकाब्य किताबको प्रकाशन गर्न मसँग सहयोग माग्नुभएको थियो । किताबबारे सुझाव पनि माग्नुभएको थियो । किताबको लागि मैले आवरणसमेत तयार पारेको थिएँ,’ शिशिरले भने । लाजुराम चौधरी अंकितका अनुसार भुत्वा महाकाव्यको प्रकाशनका लागि शहिद प्रवेश र आफू इन्डिया गएको सम्झिन्छन् ।
जोखन गोचाली परिवारका कैलाली अध्यक्ष पनि थिए । गोचाली परिवारमा आबद्ध भएर उनले थारु सांस्कृतिक कार्यक्रम गर्ने, मुक्तिका नाटकहरू लेखेर प्रहसन गर्थे । गोचाली परिवारमा बसेरै उनले थारू मुक्तिको लडाइँ सुरु गरेका थिएँ । किनकि यो आफैंमा एउटा संगठन थियो । यसमा आबद्ध थारुहरुलाई विभेदविरुद्ध बुलन्द आवाज सहित एकीकृत हुन आव्हान गरिन्थ्यो । ऊबेला निस्किने क्रान्तिकारी पत्रिकामा उनी नियमित थारू मुक्तिका आवाज उठाउँथे ।
.....
आदर्शका स्रोत जोखन
जोखन रत्गैयाँ थारूहरूका आइडल थिए, प्रेरणाका स्रोत थिए । उनले देखाएका बाटामा आज अनगिन्ती थारूहरू हिँडिरहेका छन् । अहिले जतिपनि कम्युनिस्ट थारू नेताहरू छन्, सबैले जोखनको विचार र सिद्धान्तलाई आत्मसाथ गरेका छन् । लक्ष्मण थारू जसले जोखनकै छत्रछाँयामा राजनीति सिके, कृष्ण्कुमार चौधरी जसले जोखनको विचारबाट प्रभावित भएर माओवादीमा लागे, लाजुराम चौधरी, वीरमान चौधरी, गौरीशंकर चौधरी, सूर्य चौधरी, लक्ष्मी चौधरी जसले जोखनलाई आदर्श मानेर माओवादी जनयुद्धमा होम्मिए । त्यतिमात्र नभएर बर्दियाका खुसीप्रसाद चौधरी, शिवप्रसाद चौधरी, विश्वबहादुर चौधरी, मनकला चौधरीलगायत सयौं नेताहरू जोखनका विचारबाट प्रभावित थिए । जोखनले दिएका प्रशिक्षण, जोखनले जनतासँग घुलमिल हुन सिकाएको आइडिया उनीहरुले आजका दिनसम्म आत्मसाथ गरेका छन् । उनले साहित्यमा देखाएको बाटोलाई आत्मसाथ गरेका छन् । जातीय, वर्गीय विभेदबारे दिएको अभिव्यक्ति अनुसरण गरेका छन् । उनका सहकर्मी भगत बडुवाल, हरि ज्ञवाली सबैले भन्ने गर्छन्, जोखन बहुप्रतीभाशाली व्यक्ति हुन् । उनमा अध्ययन गर्ने अदभूत कला थियो । आदिवासीका सबालमा, थारुका सबालमा उनले धेरै अनुसन्धानहरू गरेका थिए । आज भलै जोखनको शरीर हामीमाझ छैन, तर उनले देखाएको बाटो, उनले प्रस्तुत गरेको विचार, सिद्धान्त र आइडियोलोजी जीवन्त छ र रहिरहनेछ ।
लेखक :मदन चौधरी, पहिलोपल्ट नागरिक दैनिक र मुक्तिक डगरमा प्रकाशित । मदन चौधरी र इन्दु थारूको अनुमतिमा पुन:प्रकाशित गरिएको।