Sunday, May 3, 2020

थारू भाषाको प्रथम साहित्यिक त्रैमासिक पत्रिकामध्ये एक "हरचाली"


थारू भाषाको प्रथम साहित्यिक त्रैमासिक पत्रिका मध्ये एक "हरचाली"का सम्पादक सागर कुस्मीसँगको अन्तर्वार्ता। 

तपाईंले प्रकाशन गर्ने हरचाली त्रैमासिकबारे केही भनिदिनुस् । 
हरचाली साहित्यिक त्रैमासिक थारू भाषाको विशुद्ध साहित्यिक पत्रिका हो । जिल्ला प्रशासन कार्यालय कैलालीमा २०७१ फागुन २८ गते विधिवत् रूपमा दर्ता (दर्ता नम्बर १६९) भई २०७२ वैशाखदेखि प्रकाशन शुरु गरिएको हो । यसको प्रकाशक तथा प्रधान सम्पादक म आफै (सागर कुस्मी) छु । यो पत्रिका कैलाली जिल्लाको धनगढीबाट हालसम्म एकमात्र नियमित प्रकाशन हुँदै आएको थारू भाषाको पत्रिका हो । यो पत्रिका कैलाली, कंचनपुर, बर्दिया, बाँके, दांग, सुर्खेत, कपिलवस्तु, रिपन्देही, चितवन, नवलपरासी, काठमाडांै, र भारतको उत्तर प्रदेशसम्म पुग्छ ।

सम्पादक सागर कुस्मी
तपाईंको बारे पनि केही भनिदिनुस् न ।
म एउटा किसानको छोरा हुँ । म कैलारी गाउँपालिका वडा नम्बर ८ दक्षिण टेंर्ही गाउँको बासिन्दा हुँ । साहित्यिक पत्रकारिता गर्ने क्रममा हाल म अहिले धनगढीमा बस्छु । पत्रकारितासँगै म थारू लोककथा, थारू लोकगीतमा बढी कलम चलाउँछु । मेरा दुई वटा हस्ताक्षर र फुटल पोक्री गजल संग्रह र एउटा मुक्तक संग्रह प्रकाशित छन् । लोककथा संग्रह, लोकगीत संग्रह, हाइकु संग्रह, गजल संग्रह र खोज तथा अनुसन्धानमुलक निबन्ध संग्रह प्रकाशनको तयारीमा रहेको छ । म धेरैजसो थारू भाषा साहित्य र संस्कृतिमा कलम चलाउन रुचाउछुँ ।

यसको नाम हरचाली राख्नुको कारण ?
मलाई  थारूको सन्तान भएकोमा गर्व लाग्छ । थारू सामुदायमा अझै पनि हजारौं शब्द लोप भैसकेका छन् र हुँदै छन् । त्यसैले एउटा शब्द छानेर यो नाम जुराएको हुँ । खाली समयलाई सदुपयोग होस् र थारू भाषा साहित्य, संस्कृतिको संरक्षण सम्वद्र्धन होस्, थारू भाषाको लेख रचना दस्तावेजिकरण होस् भनी यो नाम जुराएका हौं ।

यो त्रैमासिक निकाल्ने प्रेरणा कहाँ र कसरी पाउँनु भयो ?
मेरो बचपनदेखि नै साहित्यमा रुचि थियो । म सानैदेखि कविता लेख्थें । जस्तो सुकै पत्रिका पनि खोजी खोजी पढ्ने बानी थियो मेरो । स्कुलमा म पढ्दा खेरी भित्ते पत्रिका निस्किन्थ्यो । त्यसमा म पनि कविता पठाउँथे । गाउँमा क्लबको अध्यक्ष हुँदा पनि "फुलरिया" भन्ने भित्ते पत्रिका निकाल्थें । त्यसपछि धनगढीबाट "निसराउ साप्ताहिक" भन्ने पत्रिका निस्किन्थ्यो । त्यसमा पनि मेरा कविता, गजल, मुक्तक छापिन्थे । यसपछि "हमार पहुरा" अर्ध साप्ताहिक (पछि दैनिक) पत्रिकामा मेरा गजल, मुक्तक, लेख रचना छापिन्थें । हमार पहुरा पत्रिकामा काम गरेर पनि धेरै अनुभव बटुलेँ । दाङ डेउखुरी बाट निस्किने "लावा डग्गर" त्रैमासिक मा कैलाली प्रतिनिधि भएर काम गरिसकेपछि आफैमा एउटा प्रकाशक भएर पत्रिका निकाल्ने हिम्मत र आँट आयो । यसरी म अहिले हरचाली साहित्यिक त्रैमासिक पत्रिका कैलालीबाट नियमित निकाल्न सफल भएँ ।

यसमा कस्ता कस्ता रचना प्रकाशन गरिन्छ र आफ्ना रचना प्रकाशन गराउन कहाँ कसरी पठाउँनुपर्छ ? 
यो एउटा साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक लेख रचना, कविता, गजल, मुक्तक, कथा, संस्मरण, लघुकथा, उपन्यास प्राय सबै विधाका रचना छापिन्छन् । सन्देशमुलक, जनचेतनामुलक, खोज तथा अनुसन्धानमुलक रचनालाई बढी प्राथमिकता दिईन्छ । कसैलाई गाली गलौज, आरोप, र नितान्त मनोरञ्जनात्मक माया प्रेम सम्बन्धि रचना छापिदैन । पत्रिकाको इमेल आइडी  harchali3@gmail.com मा आएका रचनालाई छनौट गरेर मात्र छापिन्छ ।

आगामी दिनमा यसलाई कसरी अगाडि बढाउने र अझ बढी पाठकमाझ पुर्याउन के के गर्ने सोच राख्नु भएको छ ?
हामीले आफ्नो तर्फबाट सक्ने जति गरेकै छौं । यो पत्रिकालाई अझ स्तरीय बनाउन पाठकहरूको सल्लाह सुझाव, प्रतिक्रियाको आशामा बसेका छौं । आगामी दिन शहरदेखि गाउँसम्म पुर्याउने योजनामा छौं । त्रैमासिकबाट मासिक बनाउन रात दिन खटिरहेका छौं । थप स्तम्भ राखी, भित्री पृष्ठ मल्टी कलरमा प्रकाशन गर्ने क्रममा छौं । बाँकी जिम्मा पाठक र सहयोगीको हुनेछ ।

अन्त्यमा हाम्रा पाठकलाई केही सन्देश दिन चाहनुहुन्छ ?
यो मेरो मात्र पत्रिका होइन । पत्रिका भनेको सबैको साझा विद्यालय हो ।  यसलाई सबैले माया, ममता, सहयोग गर्नुस् । चित्त नबुझेको ठाउँमा सल्लाह सुझाव दिनुस् । खाली नबस्नुस् । केहि न केहि अवश्य लेख्नुस् र हामीलाई पठाउनुस् । सबैलाई हार्दिक शुभकामना।

नोट: यस अन्तर्वार्ताको शीर्षक "हरचाली -- थारू भाषाको पहिलो साहित्यिक त्रैमासिक पत्रिका" परिवर्तन गरिएको छ। थारू भाषाको पहिलो साहित्यिक त्रैमासिक पत्रिका "आँइख" हो।

No comments:

Post a Comment