ट्याटु खोप्दा मसीमा आमाको दुध पनि मिसाइन्थ्यो। यसको अर्थ अर्को जुनीमा यही आमाको कोखबाट जन्मिन पाऊँ भन्ने हो।
ट्याटु छालामा सियोमार्फत मसी हालेर बनाइने आकृति वा अक्षर हो। फेसनका रूपमा फस्टाइरहेको ट्याटु थारू समुदायमा भने दशकौँ पहिलादेखि प्रचलनमा थियो। थारू समुदायमा यसलाई टीका छेड्नाको रूपमा चिनिन्छ। टीकाको अर्थ मार्क वा डट र छेड्नाको अर्थ छेड्नु हो। टीका छेड्नालाई विभिन्न नाम दिइएको छ। टीका छेड्ना (पश्चिम तराई–दाङदेखि कञ्चनपुरका डंगाहा थारू र देउखुरिया थारू)को रूपमा प्रचलित छ। लीला (लीला छेडन वा लिगा गोदन–राना थारू र कठरिया थारू)मा र खोदना/गोदना (दाङदेखि पूर्वका थारू)मा प्रचलित रहेको पाइन्छ।
सियो, धागो, दियो, हुक्का, तोरीको तेल, बेसारलगायत सामग्रीबाट टीका छेड्ना बनाइन्छ। हामीसम्म यो कला हस्तान्तरण हुन निकै कठिन भयो। मेरी आमा र हजुरआमासँग यो सिप थियो। मसम्म आइपुग्दा खोप्ने र खोपाउने दुवै रोकियो। तर, बिस्तारै मेरो पुस्ताले यसलाई ब्युँताउन सफल भएको छ।
थारू समुदायमा टीका छेड्ना कहिलेदेखि सुरु भयो ? यकिन छैन। तर, मैले अध्ययन गरेअनुसार यो प्रचलन सयौँ वर्ष पुरानो छ। अनुसन्धानका क्रममा मैले ९० वर्षको हजुरआमासँग कुरा गर्दा उनीहरूले पनि आफ्नो हजुरआमासँग सिकेको सुनाउँछन्।
टीका छेड्नुको अनेक कारण छन्। यही नै सत्य हो भन्ने छैन। धेरैले भन्छन्, हामी मरेपछि लैजाने ट्याटु मात्र हो । थारू समुदायमा हामी मरेपछि ‘भवन्वन घर’ अर्थात् भगवान्को घर जान्छौँ भन्ने मान्यता छ। स्वर्ग/नर्कको भने भाष्य छैन। तर, हिन्दु धर्मको प्रभावका कारण कतिपयले स्वर्ग र नर्क पनि भन्ने गरेका छन्। मरेपछि भगवान्को घर जान्छौँ। त्यो घर धेरै टाढा होला! त्यो घर जाँदै गर्दा थाक्छौ होला! त्यो भगवान्को घर कसरी जाने ? यसैको सिलसिलामा धेरै आकृति बनेको देखिन्छ। जस्तै– घोडा चढेर जाने भन्ने लागेर हुन सक्छ घोडाको आकृति बन्यो। जाँदाजाँदै थकाइ लाग्दा कहाँ बस्ने ? त्यसैले मचिया अर्थात् खटिया बनेका छन्। भोक लाग्छ। त्यसकारण चुल्होको आकृति बन्यो। तरकारीको रूपमा प्रयोग गरिने आलु, भन्टाको आकृति बन्यो। हाम्रो दैनिक जीवनमा प्रयोग हुने विभिन्न आकृति बन्यो।
![]() |
| फोटोः इन्दु थारू। अनुमतिमा प्रयोग गरिएको। |
दाङ र देउखुरी उपत्यकाका थारूको भाषा, संस्कृति र टीका छेड्ना बनाउने तरिका फरक–फरक छ। दाङका महिलामा टीका छेड्ना माइतीको उपहारको रूपमा बनाइन्छ। त्यहाँका छोरीले विवाह गर्ने वेला वा विवाह भएपछि टीका छेड्ना बनाउँछन्। त्यो छोरीले टीका छेड्ना बनाएपछि बनाउने व्यक्तिलाई टिकिनिहा अर्थात् पैसा तिर्नुपर्यो। अनुसन्धानका क्रममा मैले एक–दुई रुपैयाँसम्म तिरेको भेटेँ। त्यसबाहेक चामल, अन्डा, रक्सी दिएको भेटेँ। छोरीले त्यो आकृति बनाए पनि त्यो पैसा र सामग्री माइतीले तिर्छन्। देउखुरिया महिलाहरूमा भने सखीसखी अर्थात् साथी–साथीबिच एकले अर्कोलाई खोपाउने चलन छ।
यो कुरा मैले हजुरआमाबाट सुनेपछि छोरीको माइतीसँग सम्बन्ध, आत्मीयता, माइतीको उपहार शरीरमै बोकिरहेको हुने रहेछन् भन्ने जानकारी पाएँ। कतिपय हजुरआमाका अनुसार विवाहपछि महिलाहरू कताकता पुग्छन्। सखी अर्थात् साथी सम्झने माध्यम टीका छेड्ना बन्छ। यो बनाउने अर्को कारण हिलिङ अर्थात् उपचार पद्धति पनि हो। हजुरआमाहरूका अनुसार पहिला खुट्टा धेरै दुख्थ्यो। यो बनाएपछि दुख्न छोड्यो।
पहिले ट्याटु खोप्दा मसीमा आमाको दुध पनि मिसाइन्थ्यो। यसको अर्थ अर्को जुनीमा यही आमाको कोखबाट जन्मिन पाऊँ भन्ने हो। टीका छेड्ना माया दर्साउने तरिका पनि हो। कतिपय हजुरआमाले नयाँ बुट्टा डिजाइन गर्नुभन्दा आफ्ना आमा, दिदी, हजुरआमाले बनाएका आकृति नै धारण गर्ने गरेका छन्। यसले मौलिकपनको निरन्तरतालाई कायम राखेको छ। थारू समुदायमा सबैले बनाउने बुट्टा वा आकृति एकै किसिमको हुन्छ। शरीरको ठाउँ भने फरक हुन सक्छ। यो महिलाले महिलाको लागि मात्र बनाउँछन्। छोरीहरूले १० देखि २० वर्षको उमेरमा खोपिसक्छन्।
टीका छेड्ना मेरो आमाको हातखुट्टामा छ। मैले उहाँको शरीरको त्यो आकृति धेरै लामो समयपछि मात्र देखेँ। गाउँबाट पढ्न हामी धनगढी बजार आयौँ। यहाँ आउनेबित्तिकै यही आकृतिकै कारण मेरी आमाले हेपाइ सहनुपर्यो। के बनाएको ? किन राम्रो शरीर बिगारेको ? त्यसपछि मेरो आमाले पूरा बाहुला भएको लुगा लगाउन थालिन्। त्यो हेपाइको कारण हामीलाई कहिल्यै भनिनन्। मेरो पालादेखि हामी विद्यालय जान थाल्यौँ। विद्यालयको अनुशासनमा बस्नुपर्यो। ड्रेस कोड झेल्नुपर्यो। टीका छेड्ना बनाएर जान सक्ने अवस्था रहेन। एकल सांस्कृतिक प्रभुत्वका कारण हामीमाझ यो बिस्तारै ओझेल पर्यो। हाम्रो कलालाई कला नै मानिएन।
राज्यका नीति, आधुनिकताको दबाब, भेदभाव र लाजको भावनाले पुस्तान्तरण रोकियो। यही कारण कतिपय अवस्थामा परिवारका सदस्य नै टीका छेड्नाका लागि बाधक भए। टीका छेड्नाकै कारण उनीहरूमा अपराधबोध हुने अवस्था आयो।
यो संस्कृति जोगाउनु आवश्यक छ। पुस्तान्तरण हुनु आवश्यक पनि छ। त्यसैले, मैले एक वर्ष लगाएर टीका छेड्ना सिकेँ। मैले बनाउन सिकेपछि हजुरआमालाई सुनाएँ। त्यसपछि उहाँको प्रतिक्रिया थियो, ‘तिमीले पुर्खालाई बोक्यौ। मलाई गौरवको महसुस भयो।’ हामीमाझ पुर्खा छैनन्। तर, ती पुर्खा ट्याटुको रूपमा हामीमाझ रहेका छन्। हामीले पुर्खा बोकिरहेका छौँ।
कतिपयले यसलाई सुन्दरतासँग जोडेर मात्र हेर्छन्। कतिपय हजुरआमाले राम्री हुने रहर लागेकोले बनाएको भन्छन्। तर, उहाँहरूसँग लामो कुरा गर्दा आमा, साथी र पुर्खासँगको सम्बन्धबारे पछि मात्र कुरा आउँछ। अहिले ट्याटु फेसनको रूपमा खोप्ने चलन छ। टीका छेड्नाको महत्व थाहा नभएर होला धेरैले अनेकौँ आकृति बनाइरहेका छन्।
![]() |
| फोटोः इन्दु थारू। अनुमतिमा प्रयोग गरिएको। |
अहिले थारू ट्याटु भनेर प्रचारप्रसार गरेपछि धेरैले मलाई पनि बनाइदिनुपर्यो भनेर आइरहेका छन्। हामीले टीका छेड्ना कन्भेसन पनि गर्यौँ। पाँच जिल्लाबाट १२ जना हजुरआमाबाट तीन दिनमा मसी बनाउनेदेखि छेड्नेसम्मको अभ्यास गर्यौँ। टीका छेड्नमा हातले छेड्ने र मेसिनको प्रयोग दुवै हुने गरेको छ। पहिलेकोजस्तो सुविधा नभएकाले अहिले बजारको मसी प्रयोग गरेर काम गरिरहेको छु।
७० को दशकमा हिँडिरहेका महिलापछि यो कला सकिने अवस्थामा पुगेको थियो। तर, अब यसबारे चर्चा बढिसकेको छ। धेरै नयाँ साथीहरू हामीलाई पनि बनाइदिनु भनेर आइरहेका छन्। धेरैले यसमा रुचि पनि देखाइरहेका छन्। यसको महत्व खोजिरहेका छन्। बुझिरहेका छन्। आदिवासीको पहिचान, इतिहास जोगाऔँ भन्ने धेरै बहस, छलफल भए। त्यसले पनि टीका छेड्ना कला ब्युँताउन सहयोग मिलेको छ। मैले अहिले आदिवासी ट्याटु मात्र खोप्ने विचार गरेको छु। कसैले मलाई फूल बनाइदेऊ भन्छन् भने बनाउँदिनँ। ४० वर्षदेखि रोकिएको कुरा हामीले बुझेर गर्न थाल्यौँ। नयाँ पुस्ताले बु्झ्नेबित्तिकै अर्को पुस्तामा हस्तान्तरण हुन्छ।
(अध्येता थारूसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)
Republished from Naya Patrika with the author's permission.



.jpg)

No comments:
Post a Comment